Monday, January 9, 2017

दुई वर्षभित्र विराटनगरका सबै सडक कालोपत्रे हुन्छन् : उपमहानगर कार्यकारी अधिकृत

दीपक कोइराला
कार्यकारी अधिकृत
विराटनगर उपमहानगरपालिका


विराटनगरमा विकास निर्माणका कामहरू भइरहेका छन् । निर्माणसँगै स्थानीयले धुलो र हिलोको सास्ती पनि धेरै खेप्नु परेको छ । हिउँदमा धुलो र बर्खामा हिलोले यहाँको जनजीवन कष्टप्रद हुने गरेको छ ।

एकातर्फ ढल–नाला निर्माणका लागि एसियाली विकास बैंकको सहयोगमा मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजना सञ्चालन भइरहेको छ भने अर्कोतर्फ रानी—इटहरी छ लेन सडक विस्तारको काम । छ लेन सडक विस्तार र ढल–नाला निर्माणको काम एकैपटक हुँदा विराटनगरमा विकासका कामले स्थानीयलाई सास्ती दिएको छ ।

विराटनगरमा भइरहेको विकासका काम र उपमहानगरपालिकाका आगामी योजनाबारे उपमहानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालासँग  कोशी अनलाइनले गरेको कुराकानीः


विराटनगरमा विकासका काम कसरी अघि बढिरहेका छन् ?

विराटनगर उपमहानगरपालिकामा यो वर्षदेखि विकासका कामलाई तीव्रता दिइएको छ । यहाँ सञ्चालित मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाअन्तर्गत ढल–नाला निर्माणलगायतको काम मुख्यतः चार भागमा विभाजन गरेर निर्माणलाई तीव्र पारिएको छ ।

त्यस्तै, १२ स्थानबाट स्ट्रन ड्रेन निर्माण भइरहेको छ । विस्तार भइरहेको छ लेन सडकमा महेन्द्र चोक र भृकुटीचोकदेखि ढल निर्माणको काम भइरहेको छ । सडक निर्माणअन्तर्गत भट्टा चोक–पानीट्यांकी खण्डमा काम भइरहेको छ । यस्तै, ट्रिटमेन्ट प्लान्ट निर्माणको काम जतुवामा निर्माण भइरहेको छ ।

विकास निर्माणमा ढिलासुस्ती भएको जनगुनासोलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
म आउनेबित्तिकै घोषणापत्र नै जारी गरेर विकास निर्माण, सुशासनलगायत विषयमा मेरो धारणा स्पष्ट पारिसकेको छु । त्यहीअनुरूप यतिबेला विकास निर्माणका काम तीव्र रूपमा भइरहेका छन् । जमिनमुनिको काम भएकाले धेरै काम भएजस्तो नदेएि पनि विराटनगरको पूर्वाधार विकासका लागि दीर्घकालीन आधार तयार भइरहेको छ ।

ढल–नाला निर्माणले यहाँको मुख्य रूपमा रहेको डुवानको समस्या समाधान गर्नेछ । ढल–नालासँगै सडक पनि विस्तार भएका छन् । विस्तार गरिएका सडक २ वर्षभित्रै कालोपत्रे हुनेछन् । त्यसपछि विराटनगरको मुहार फेरिने छ ।

धुलोले सास्ती भएको गुनासोलाई कसरी सुनुवाई गर्दै हुनुहुन्छ ?
विकास निर्माणक्रममा सडक खनिएकाले धुलो भएको हो । विकास निर्माणका बेला घाम लागे धुलो र पानी परे हिलो हुनु स्वभाविक पनि छ । सकेसम्म छिटो काम सकेर धुलो र हिलोको समस्या समाधान गर्न हरसम्भव प्रयास भइरहेको छ ।

यो वर्षको अन्त्यसम्ममा सबै सडक ग्राभेल भइसक्ने छन् । केही समय ग्राभेल बस्नुपर्ने पनि हुन्छ । हतार–हतार कालोपत्रे गरे सडक भासिने र खाल्डा पर्ने समस्या आउँछ । सडक ग्राभेल भएस“गै चालू परियोजना फेजआउट हुन्छ । त्यसमा पनि कालोपत्रे गर्न अर्को परियोजना विराटनगरमा सञ्चालन हुन्छ ।

परियोजना सुरु भएसँगै कालोपत्रेको काम पनि सुरु हुन्छ । कालोपत्रेको काम गर्ने ठेकदार कम्पनीसँग धुलो नियन्त्रणको कामका लागि पनि सम्झौता गरिने भएकाले अर्को वर्षदेखि धुलो न्यूनीकरण हुन्छ ।

विकास निर्माणमा कमसल सामग्री प्रयोग भएको विषयलाई कसरी लिनुभएको छ ?
निर्माणका काममा कमसल सामाग्री प्रयोग हुनुहुँदैन भन्ने मेरो मान्यता छ । कहीं–कतै कमसल सामग्री प्रयोग भएको पाइए तत्काल खबर गर्न नगरबासीलाई मेरो आग्रह छ । नगरपालिकाले पनि सर्वदलीय र सर्वपक्षीय अनुगमन गरिरहेको छ ।

विराटनगरका विकास निर्माणसम्बन्धी अन्य योजनाहरू के–के छन् ?
दीर्घकालीन महत्त्वका कामहरू विराटनगरमा हुन लागेका छन् । सदन सहरी विकास कार्यक्रमअन्तर्गत रानी रोडशेष चोक–भट्टिमोड सडक विस्तारको काम टेन्डरमा गइसकेको छ । १५ मिटर चौडाइको यो सडकलाई विराटनगरको बाइपास रोडका रूपमा विकास गर्ने उपमहानगरको योजना छ ।

त्यस्तै, विराटनगरस्थित बी प्लट र ए प्लटमा अन्डरग्राउन्ड पार्किङसहितको सपिङ महल र भ्युटावर बनाउने योजना अघि बढिसकेको छ । सभागृहलाई नयाँ रूप दिएर व्यवस्थित रूपमा ५ सयजना मानिस अटाउन सक्ने क्षमताको बनाइँदै छ ।

त्यसैगरी, एयरपोर्ट–धरानरोड सडक फुटपाथसहित अन्तर्राष्ट्रिय स्तरको बनाइँदै छ । यसबाहेक कृषि बजारको निर्माण कार्य सुरु भइसकेको छ । नगर बस सञ्चालनका लागि १२ वटा बस ल्याउने निश्चित भइसकेको छ । फाउन्टेन पार्क सञ्चालन हुने अवस्थामा पुगेको छ । सुविधा सम्पन्न बस पार्क निर्माणको काम पनि सुरु भइसकेको छ ।

यसबाहेक, फोहोर मैला व्यवस्थापनका लागि डंग्राहा ल्यान्ण्डफिल साइट निर्माणका लागि प्रयास थालिएको छ । यस्तै, एडिबी र विश्व बैंकसँग मिलेर फोहोरलाई बृहत् रूपमा व्यवस्थापन गर्ने योजना छ । विराटनगरमा सञ्चारग्राम बनाउने काम पनि सुरु भइसकेको छ ।

उपमहानगरपालिकाले घोषणा गरेका धेरै कार्यक्रमहरू अलपत्र परेका छन् । तपाईंले घोषणा गरेका विकासका काम पनि अलपत्र त पर्ने हैनन् ?
यो विषयमा तपाईंहरू शंकै नगर्नूस् । यी घोषाणा हैनन्, सबै कार्यान्वयनमा गइसकेका छन् । मैले भनेका सबै विकासका कामहरूका लागि बजेट उपलब्ध छ ।

केही योजनाको ठेक्का प्रक्रियासमेत सुरु भइसकेको छ । केहिको ठेक्का लागेर काम पनि थालिसकिएको छ । र, केही योजना डिजाइनक्रममा छन् । एक्सनमा गइसकेकाले सबै कार्यान्वयन हुन्छन् ।
०००

Previous Post
Next Post

post written by:

0 comments: