Saturday, January 7, 2017

श्रीमतीहरु गिट्टी कुटेर कमाउँछन्, श्रीमानहरु जाँड र तासमा उडाउँछन्

अछाम, पुस २४— सुदूर पहाडी जिल्ला डोटीका केही गाविसका महिलाले रातदिन दुःख गरी कमाएको रकम पुरुषहरूले मदिरा र तास जुवामा उडाउने गरेको पाइएको छ । आफूले दुःख गरी कमाएको रकममा पनि महिलाहरूको कुनै हक लाग्दैन । सो रकम उनीहरूले सिधै घरका पुरुष सदस्यलाई बुझाउनुपर्छ । अझ अचम्म त यो छ कि, त्यहाँका अधिकांश पुरुष महिलाहरूको कमाइमा आश्रित छन् । महिलाहरू रात दिन काममा घोटिँदा पुरुषहरू भने महिलाले नै कमाएको रकम मदिरापान र जुवातास खेलेर सिध्याउँछन् ।
दीपायलस्थित कुलपाते–गोपघाट सडकखण्डको सेती किनारमा २६ जना महिला नौ वर्षदेखि निरन्तर गिट्टीको व्यापार गर्दै आएका छन् । तर, अधिकांश महिलाले आफूले कमाएको रकम आफूखुसी खर्च गर्न सक्दैनन् ।उनीहरूको कमाइ पुरुषहरूले मदिरा पिएर र तास खेलेर सिध्याउँछन् । ‘लोग्ने मान्छे कामै गर्दैनन्,’ बनलेख–८ की नारुदेवी कोलीले भनिन्, ‘उल्टै पैसा माग्छन् । दिएजति सबै रकम रक्सी र तासमा उडाउँछन् ।’

दीपायल पार गर्नेबित्तिकै गोपघाटदेखि बानडुग्रिसैन सडकछेउमा भेटिने अधिकांश महिलाको पीडा उस्तै छ । ‘ससुरा, श्रीमान् र छोराहरूको व्यवहार एउटै हुन्छ,’ बारपाटा गाविसकी थिउरी कामीले भनिन्,’ उनीहरू हाम्रै कमाइमा मस्ती गर्छन् । काम गर्ने त छोरी, बुहारी र हामीहरू मात्रैै हौं ।’

बनलेख, बारपाटा र लाटामाडौंलगायत केही गाविसका महिलाको मुख्य आयस्रोत भनेकै गिट्टी बेचेबापत आउने रकम हो । उनीहरू कुनै महिना त २० हजार रुपैयाँभन्दा बढी नगद आम्दानी गर्छन् । तर, त्यो सबै रकम सदुपयोग गर्न नसक्दा भने गरिबी र अभाव घट्न नसकेको लाटामाडौं–१ की जलुदेवी लुहारले बताइन् । ‘गिट्टी बेचे जति सबै पैसा श्रीमान्लाई बुझाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसमा हाम्रो कुनै अधिकार हुँदैन । हिसाबकिताब राख्ने त पुरुषहरू नै हुन् ।’

महिलाहरूको त्यही आम्दानीले पुरुषहरू दिनभर चौतारो र चिया पसलमा बसेर गफ चुट्दै तास फिट्ने र साँझ परेपछि भट्टी छिर्ने काम गर्छन् । तर, महिलाहरू भने के सुत्केरी, के गर्भवती, के बिरामी सबै अवस्थामा काममै जोतिइरहेका भेटिन्छन् ।

अत्यधिक कार्यबोझ, सानैमा विवाह हुनु, उमेर नपुग्दै आमा बन्नु, आराम र उचित आहार नपाउनुजस्ता कारणले त्यहाँका महिलाहरू वास्तविक उमेरभन्दा छिट्टै बुढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी करुणा थापाले बताइन् ।‘महिलाहरू पशुवत् जीवन जिउन विवश छन्,’ उनले भनिन्, ‘यो टिठलाग्दो र अमानवीय व्यवहार अन्त्य गरिनुपर्छ । नत्र गाउँका महिला जहाँको तही रहनेछन् ।’

बनलेख–७ की मैनादेवी धामी भने अपवाद बनेकी छन् । उनका श्रीमान् भने अरूका जस्तै जुवातास खेल्न जाँदैनन् । श्रीमान्ले घरव्यवहार धानेकाले काम गर्न उनलाई सहज बनेको छ । उनी छाक टार्नकै लागि दिनभर गिट्टी कुट्छिन् । दाल, चामल, नुन, तेल, कपडा र छोराछोरीको पढाइ खर्च सबै त्यही कमाइबाटै चलेको छ ।‘गिट्टी बेचेर अभाव हटेको त छँदै छ, श्रीमान्ले घरव्यवहार सम्हालेपछि अन्य कामको कुनै चिन्ता छैन,’ उनले भनिन् आजको राजधानीमा समाचार छ ।

Previous Post
Next Post

post written by:

0 comments: